बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

काठमाडौं– युरोपेली क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बार्सिलोना समूह चरणको ४ खेलबाट १० अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । करीव ८० हजार दर्शकमाझ ८३ औं मिनेटमा माल्कोनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सी विना मैदानमा उत्रिएको बार्सिलोनाले ८७ औं मिनेटमा गोल खान पुग्यो ।

अर्जेन्टिनी खेलाडी माउरो इकार्डीले इन्टर मिलानका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । कप्तान लिओनेल मेसी टोलीसँगै इटाली पुगेपनि प्रशिक्षक एर्नेस्टोले जोखिम लिन नचाहेपछि बेन्चमा पनि बसेनन् । यही समूहको अर्को खेलमा टोटनह्यामले पिएसभीलाई दुई एकले हरायो । उसको जितमा दुबै गोल हेरी केनले गरे । उनले खेलको ७८ औं र ८९ औं मिनेटमा गोल गरेका थिए ।

यता समूह सीबाट पेरीस सेन्ट जर्मेन पनि नापोलीसँग एक एकको बराबरीमा रोकियो । बराबरीले नापोली समुहको शीर्ष स्थानमा पुग्दा पिएसजी तेसो स्थानमा कायमै छ ।

यही समूहको अर्को खेलमा इंग्लिस टोली लिभरपुल सर्वियाको रेड स्टारसँग पराजित भयो । सर्वियामा भएको खेलमा लिभरपुलले २–० गोलको पराजय ब्यहोर्यो । यसअघि घरेलु मैदानमा चार शुन्यले हराएको लिभरपुल रेडस्टारको मैदानमा भने पुर्णरुपमा दबावमा देखियो ।

सन् १९७३ पछि रेड स्टारको मैदानमा उत्रिएको लिभरपुलविरुद्ध घरेलु टिमका लागि दुवै गोल पापकोभले गरे । हारँसगै लिभरपुलले समुह सी मा तीन अंकको अग्रता बनाउने मौका पनि गुमायो । समूह ए अन्तर्गत क्लव बर्गसँग ४–० गोलले पराजित भएसँगै फ्रान्सेली टोली मोनाको यसपटक समूह चरणबाटै बाहिरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु