बहिरा महासंघसँग घुस माग्ने पाठ्यक्रम विकास केन्द्रका लेखापाल पक्राउ

काठमाडौँ– २५ हजार घुस लिएको आरोपमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल (नायव सुब्बा) गुणराज दाहाल अख्तियारको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नासु दाहाललार्इ २५ हजार रूपैयाँ घूससहित सोमबार पक्राउ गरेको हो । टोलीले उनलाई काठमाडौं महानगरपालिका गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट रंगेहात पक्राउ गरेको बताइएको छ ।

उनीमाथि शैक्षिक सामग्रीबापतको बिल भुक्तानीका क्रममा २५ हजार घुस लिएको आरोप लागेको छ । पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले राष्ट्रिय बहिरा महासंघ नेपालसँग कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्री (डिभिडी) तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने बहाना बनाई सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।

बहिरा महासंघले घुस नदिने भन्दाभन्दै पनि निज दाहालले पटक–पटक फोन र म्यासेजबाट ‘आन्तरिक लेखा परीक्षणका लागि सहयोग गरिदिनु पर्यो’ भन्दै घुस खाने दाउ झिकेको महासंघका अध्यक्ष केपी अधिकारीले स्रोतलाई बताए । सरकारी निकायबाटै अपांगता क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेका कारणले समावेशीकरणमा पहुँच तथा शिक्षामा विकास हुन नसकेको भन्दै आफू अख्तियारमा पुग्नुपरेको अध्यक्ष अधिकारीको भनाइ छ ।

नियन्त्रणमा लिइएका दाहालमाथि थप अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु