भारतको नयाँ दिल्लीबाट ४० नेपाली चेलीलाई उद्दार गरि नेपालगञ्ज ल्याइयो

नेपालगन्ज– भारतको राजधानी नयाँ दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ । नेपालबाट ललाई फकाई र प्रलोभनमा पारेर भारत पुर्याइएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इण्डिया, नयाँ दिल्लीस्थित नेपाली दूतावास, माइती नेपाल, भारत प्रहरीको सक्रिय पहलमा दिल्ली पुर्याइएका ४० जना महिलाको उद्दार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी गराएका छन् ।

भारतको दिल्ली स्थित जिवीरोड १२४ को कोठीबाट ३ जना र भारतको एयरपोर्ट हुदै खाडीमुलुक लैजादै गरेको अवस्थामा ३७ महिलाहरुलाई उद्दार गरिएको माइती नेपाल इण्डियाले जानकारी गराएको छ । १२४ नं. कोठीमा रहेका ३ नेपाली ३,४ बर्षपहिले बेचिएर कोठीमा काम गर्न बाध्य भएको माइती नेपाल इन्डियाका संयोजक बालकृष्ण पाण्डेले जानकारी गराएका छन् । कोठीमा रहेका नेपाली महिला सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका हुन् । उनीहरुको उमेर १८ बर्षदेखि २८ बर्ष उमेरसम्म रहेको संयोजक पाण्डेले जानकारी गराएका छन् ।

३७ जना महिलालाई खाडी मुलुकको होटल, अफिस, घर लगायतको कार्यमा रोजगारी लगाई दिने प्रलोभनका लागि एक जनाबाट ४ लाखको दरले रकम उठाएको माइती नेपालले जानकारी गराएको छ । केदार भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरि सोधपुछपछि यतिका महिलाहरुलाई उद्दार गर्न सफल भएको माइती नेपाल इण्डियाका संयोजक पाण्डेले बताएका छन् । करिव २ महिना समय लगाएर ४० जना महिलाहरुलाई उद्दार गर्न सफल भएको संयोजक पाण्डेले जानकारी गराए ।

५ सय भन्दा बढि नेपाली महिलाहरुलाई बेचिएको आरोपमा केदार भन्नेलाई पक्राउ पछि थप महिलाहरुलाई पनि खाडीमुलुकको कतार, साउदी, कोलम्बिया, मेलेसिया जस्ता ठाउँमा काम लगाई दिने भन्दै लैजाने तयारी अवस्थामा रहेका महिलाहरुलाई उद्दार गरि नेपाल ल्याईएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी गराएका छन् । ३७ जना महिलाहरु बाँके, झापा, नुवाकोट, कपिलबस्तु, दैलेख, इलाम, रामेछाप, सुनसरी लगायत ठाउँका रहेका छन् । उनिहरुको उद्दार गरि माइती नेपाल नेपालगन्जमा राखिएको छ । उद्दार गरिएकाहरुलाई उनिहरुको परिवारसमक्ष सम्पर्क गरि छाड्ने माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी गराएका छन् ।

ती महिलाहरुलाई भारतबाट नेपाल ल्याउन ५ जना भारतीय सुरक्षाकर्मी खटिएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु