स्वयम्भू, पोखरा, चन्द्रागिरी र बसन्तपुर हुँदै विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर सकियो

काठमाडौं– गत शुक्रबार नेपाल ल्याइएको ट्रफी स्वयम्भू, पोखरा, चन्द्रागिरी हुँदै आज सोमबार बसन्तपुर दरबार क्षेत्रमा विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर सकिएको छ ।

ट्रफीलाई सर्वसाधारणका लागि बसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो । टेलिभिजनमा देखेको विश्वकपको ट्रफीसँगै सेल्फी खिच्न पाउँदा सर्वसाधारणहरु उत्साहित देखिएका थिए । दिउँसो १ बजेदेखि ५ बजेसम्म मानिसहरु उत्सुकताका साथ ट्रफी नियालेका थिए ।

बसन्तपुर क्षेत्रको भ्रमणको क्रममा ट्रफी यात्राबारे थाहा पाएर हेर्न आउने सर्वसाधारणहरुको उत्सुकताले प्रदर्शनी अझ विशेष बनेको थियो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । नेपालबाट ट्रफी दुबई लगिने र त्यहाँबाट भारतमा आउने आईसीसीले जनाएको छ ।

निशान कम्पनीको सहायताले प्रदर्शन गरिएको विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । यो ट्रफी पाँच महादेशका २१ देशमा ६० भन्दा धेरै शहर पुग्ने छ । अब यो ट्रफीलाई भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिनेछ ।

यो ट्रफीलाई सन् २०१९ को १४ जुलाईमा विश्वकप विजेताले उचाल्नेछन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु