Breaking News

नयाँ नोटको अभावको हल्ला फैलिएसंगै म्याग्दीमा नयाँ नोट साट्ने भीड बढ्यो

म्याग्दी– नेपालीको प्रमुख पर्व दशैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तीय संस्थामा खुद्रा नोटको माग बढेको छ । दशै नजिकदैं जाँदा नयाँ र खुद्रा नोटको अभाव हुने हल्ला चलेपछि दैनिकजसो खुद्रा पैसाका लागि वित्तीय संस्थामा भीड लाग्ने गरेको छ ।

म्याग्दीमा चाडपर्वमा किनमेल गर्न बजार भर्नका लागि सर्वसाधारणले करीव ५ करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको म्याग्दीका बैंक तथा वित्तीय संस्थाले जनाएको छ । माग धेरै भएकाले मागलाई धन्नै गाह्रो भइरहेको नेपाल बैंक म्याग्दी शाखाका प्रवन्धक मोहनप्रसाद लामिछानेले बताएका छन् । म्याग्दीमा सर्वसाधारणलाई १८ हजार ५ सयको दरले नयाँ नोट वितरण गरिएको छ । विगतका बर्षको तु्लनामा बैंकमा माग अनुसार नोट उपलब्ध नहुदाँ समस्या भएको बैकहरुको भनाई छ ।

गतबर्षको तुलनामा ३० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम आएकाले माग अनुसार वितरण गर्न नसकिएकोले सर्वसाधारणको गुनासो आएको छ । नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष समेत रहेको छ । यसबर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, १०० रुपैयााको नयाँ नोट उपलब्ध गराएको छ । यसपटक ९ सय जनालाई लाईनमा राखेर वितरण गरिएको छ । नेपाल बैंकले वितरण गर्ने नयाँ नोट अपुग भएसंगै बजारमा रहेका निजी बैंक तथा वित्तीय संस्थामा समेत लाइन लाग्न थालेको छ ।

समयमै उचित ब्यवस्थापन गर्न नसक्दा आफ्नै ग्राहकलाई समेत नयाँ र पुरानै भएपनि खुद्रानोट उपलब्ध गराउन सकस भएको वित्तीय संस्थाका कर्मचारीको भनाई छ । नयाँ नोट ल्याउन गाउँबाट बजारमा आएका सर्वसाधारणले आवश्यकता अनुसार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । यता निजी बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको माग अनुसार नोट उपलब्ध गराउन नसकिएको बताएका छन् । ५० र १ सयको नयाँ नोटको माग धेरै रहेको जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु