Breaking News

गृहमन्त्रीकै अगाडि आइजिपी खनालले भने अपराध अनुसन्धानमा प्रहरीको विकल्प हुन सक्दैन

''अनुसन्धानको जिम्मा कर्मचारीलाई दिँदा प्रहरी असन्तुष्ट''

काठमाडौँ  – अपराध अनुसन्धानमा प्रहरीलाई अविश्वास गरी निजामतीलाई जिम्मेवारी दिन थालिएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले असन्तुष्टि जनाएका छन् । जस्तोसुकै घटनाको अनुसन्धानमा पनि प्रहरी सक्षम रहेको उनले बताए ।

६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराध अनुसन्धानमा प्रहरीको विकल्प नभएको बताए । ‘अपराध अनुसन्धानका आफ्नै विधि र कानुनी प्रक्रिया छन् । अनुसन्धान जनधारणाभन्दा सबुत र विज्ञको रायमा भर परेको हुन्छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘अनुसन्धानमा न त कुनै समयसीमा नै तोक्न सकिन्छ, राज्यले तोकेको नेपाल प्रहरी नै अनुसन्धान गर्ने दृष्टिले विज्ञहरूको संगठन हो । यसको विकल्प हुन सक्दैन ।

प्रहरी संगठनलाई आक्षेप र शंकारसहित बनाउन हामी सतत प्रयत्नशील छौँ ।’ स्रोतका अनुसार पछिल्लो समय सरकारले निजामती कर्मचारीको नेतृत्वमा कतिपय घटनाको अनुसन्धान टोली गठन गरिएप्रति असन्तुष्टि जनाउँदै आइजिपी खनालले प्रहरी नै अनुसन्धानमा विज्ञ रहेको बताएका हुन् ।

सरकारले सुन तस्करी तथा सनम शाक्य हत्या र निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गृहका सहसचिवको नेतृत्वमा टोली बनाएर छानबिन गरेको थियो । जुन विषयलाई प्रहरी अधिकारीहरूले गलत परम्परा भनेका हुन् । आइजिपी खनालले पनि गृहमन्त्रीकै अगाडि अप्रत्यक्ष रूपमा अपराध अनुसन्धानमा प्रहरीको विल्कप नभएको भन्दै सांकेतिक रूपमा असन्तुष्टि व्यक्त गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकारीले बताए ।

इतिहासका कालखण्डमा घटेका जटिल अपराधको सफल अनुसन्धान गरेको र नेपाल प्रहरी हरेक प्रकारका अपराधलाई सही निष्कर्षमा पु-याउन सक्षम रहेको खनालको भनाइ थियो । पछिल्लो समय प्रहरी संगठनलाई बदनाम बनाउने प्रयास भइरहेकामा पनि उनले असन्तुष्टि व्यक्त गरे ।
‘प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ ।

१–२ जना प्रहरीको दोष र केही घटनामा प्रहरीले आशातीत सफलता पाउन नसकेको विषयलाई समग्र संगठनको असफलताका रूपमा व्याख्या गर्नु हुँदैन,’ उनले भने, ‘यस्तो गरिँदा त्यसबाट हजारौँ इमानदार एवं कर्तव्यनिष्ट प्रहरीको समेत मान मर्दन हुन पुग्छ । यसबाट व्यक्तिगत जोखिम मोलेर नागरिक सुरक्षामा समर्पित प्रहरीलाई समेत निरुत्साहित गर्न सक्ने यथार्थलाई निवेदन गर्न चाहन्छु ।’

उनले अगाडि भने, ‘अनुसन्धान जनधारणाभन्दा विज्ञको रायमा भर परेको हुन्छ । अनुसन्धानमा न त कुनै समयसीमा नै तोक्न सकिन्छ, राज्यले तोकेको नेपाल प्रहरी नै अनुसन्धानका दृष्टिले विज्ञहरू संगठन हो । यसको विकल्प हुन सक्दैन ।

कार्यक्रमा अवकासप्राप्त एआइजी अमरसिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नुका साथै उत्कृट प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु