काठमाडौँ — यो वर्षको नोबेल शान्ति पुरस्कार विजेतामध्ये डा. डेनिस मक्वेगे २६ वर्षअघि नेपाली बिरामीको उपचारमा सामेल थिए । त्यतिबेला जुन अस्पतालमा उनले बिरामीको उपचार गरे, उनलाई अहिले त्यो अस्पताल हेर्नु छ ।त्यतिबेला थोरै बसाइ भए पनि त्यो ठाउँ र स्थानीयको आत्मीयता उनले अझै भुल्न सकेका छैनन् ।
त्यो ठाउँ अर्थात् पाल्पा तानसेनस्थित मिसन अस्पताल । त्यसताका पश्चिम क्षेत्रमै चर्चित थियो । विदेशी डाक्टरहरूसमेत सेवामा खटिने भएकाले पनि वरपरका जिल्लाबाट बिरामी त्यहाँ धाउँथे । त्यही क्रममा पुगेका थिए मक्वेगे ।
‘अहिले त्यो अस्पताल कस्तो भयो होला,’ गत साता नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि विश्वभर चर्चामा छाएका मक्वेगेले त्यो अस्पताल हेर्न मन लागेको बताएका छन् ।
डा. मक्वेगे भने अहिले पनि कंगोको बुकाभुस्थित अस्पतालमा बलात्कार र यौन हिंसापीडितको उपचारको अगुवाइ गरिरहेका छन् । कंगोमा शान्ति स्थापनाका लागि राष्ट्रसंघीय मिसन २० वर्षदेखि कार्यरत छ । त्यहाँ डा. मक्वेगे पनि कार्यरत छन् । उनलाई नेपालबाट शान्ति स्थापनार्थ खटिएका सेनाले आवश्यक सुरक्षापनि दिएका छन् ।
मक्वेगेलाई नेपाली आतिथ्यले पनि लोभ्याएको छ । उनी अझै नेपाली साथीलाई नेपालमै आएर भेट्न चाहन्छन् । नेपाली खाना पनि उस्तै मन पराउँछन् । सम्झन्छन्– ‘केही पिरो भए पनि नेपाली खाना साह्रै मीठो ।’
नोबेल पुरस्कार दिइने निर्णयबाट हर्षित भएका मक्वेगेले यो निर्णय पीडितको पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पुरस्कारको घोषणापछि मलाई विश्वले अन्तिममा पीडितका कुरा सुनेको जस्तो लागेको छ,’ उनले भने ।