सांसद बन्ने योजनाबाट ‘ब्याक’ हुन बाध्य भए गौतम

''उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड''

सांसद बन्ने योजनाबाट ‘ब्याक’ हुन बाध्य भए गौतम

काठमाडौँ  – नेकपाका नेता वामदेव गौतम काठमाडौं -७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् ।

पार्टीभित्रकै तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् ।

पार्टीभित्र र सामाजिक सञ्जालमा लगातार गौतमको उम्मेदवारी तयारीबारे नकारात्मक प्रतिक्रिया आउनेक्रम नरोकिएपछि पार्टीकै नेताहरू र शुभेच्छुकको सुझाबअनुसार गौतम पछि हटेका हुन् । महासचिव विष्णु पौडेलसहित उनीनिकट नेता–कार्यकर्ताले गौतम उम्मेदवार बन्ने तयारीबाट पछि हटेको पुष्टि गरेका छन् ।

‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’

संसद् छिर्न काठमाडौं–७ को बाटो वामदेव गौतमको पहिलो रोजाइ होइन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास असफल भएपछि वामदेव राजधानी छिरेका हुन् ।

वामदेवका लागि ठाउँ छाड्न सांसद रामवीर मानन्धर तयार भए पनि अध्यक्ष केपी ओलीसहित अधिकांश सचिवालय सदस्य विपक्षमा देखिए ।

झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले विपक्षमै अभिव्यक्ति दिए । उता, महासचिव विष्णु पौडेल पनि पछिल्ला विकसित घटनाक्रमबारे अनभिज्ञता जनाउँदै मौन बसे । वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेनन्, तर समर्थनमा बोल्न सकेनन् । प्रचण्डको साथ रहे पनि गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने निर्णय गर्न कठिन भएकाले २३ असोजका लागि बोलाइएको सचिवालय बैठक २७ असोज हुँदै ४ र ५ कात्तिकका लागि सारियो ।

प्रदेश सभा सदस्यहरूसहितका नेताहरूले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै उपनिर्वाचनको प्रसंगले नकारात्मक सन्देश गएको र गौतमको विजय सुनिश्चित गर्न नसकिने जानकारी गराएका थिए ।
सोमबार सचिवालय बैठकमा गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने प्रस्तावले प्रवेश पाएलगत्तै  सामाजिक सञ्जालमा वामदेव र नेकपाको चर्को आलोचना भई रहेको छ  । बर्दियामा पराजित भइसकेका गौतमलाई सांसद बनाउन  निर्वाचित प्रतिनिधिलाई राजीनामा गराउनु जनमतकै अपमान भएको भन्दै विरोधको क्रम बढ्दै गएपछि अन्तत गौतम उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु