Breaking News

“लामो समयसम्म ठेक्का थाती राख्ने ठेकेदारलाई कारबाही हुन्छ”– अख्तियार प्रमुख घिमिरे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले लामो समयसम्म ठेक्का थाती राख्ने ठेकेदारहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

बिहिबार पोखरामा सुशासनका लागि नागरिक समाज पोखराले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रयणमा अख्तियार र नागरिक समाजको भूमिका’ विषय कार्यक्रममा उनले ठेक्का थाती राख्ने ठेकेदारमाथि कडा निगरानी गरिने बताए ।

‘निमार्ण व्यवसायीहरू टोपी हातमा लिएर काम गर्नु होस्,’ उनले भने ‘काम गर्न शुभकामना छ, हैन भने आयोग कडा कारबाहीमा लाग्छ ।’

उनले कर्मचारीतन्त्रमा भइरहेको भ्रष्टाचार नसच्चिए आयोग चुप लागेर नबस्ने बताए । कर्मचारी नसच्चिए टोपी हातमा लिएर भाग्ने दिन आउने उनको भनाइ थियो ।

‘जनताको काम समयमा नभए भोलि जनताले कर्मचारीलाई लखेट्ने दिन नआउँला भन्न सकिँदैन’, उनले भने ।

उनले नेपाली सेनालाई ठेक्का दिँदा नेपाली सेनामा भएको व्यवसायिकता हराउने बताए। उनले नेपाली सेनालाई विकास निमार्णका काम लिएर अगाडि बढ्ने कि व्यवसायिक सेना बनाउने भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले अख्तियारको इन्टलिजेन्ट व्यूरोको स्थापना छिट्टै हुने बताए ।

व्यूरोले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूको सम्पत्तिको तथ्यांक संकलन गर्ने र अख्तियारकै कर्मचारी निरीक्षण गर्ने उनले बताए । देश संघीय संरचनामा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा सबैजना जुट्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु