Breaking News

“पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः” श्रममन्त्री विष्ट

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् ।

सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को आज लोकार्पण गर्दै उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।”

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको बताएका छन् । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उनले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन् ।

उनले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गरेका छन् ।

सो अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको बताएका छन् । रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु