Breaking News

बूढानीलकण्ठमा नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न अझै रोकिएन्

गोकर्णेश्वर नगरपालिका–४ स्थित माकालबारी क्षेत्रमा सरसफाई गरियो

काठमाडौँ– विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा आयोजना गरेको सफाइका क्रममा यस्तो तथ्य फेला पारिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । विष्णुमतीको घाट एवं सत्तलमा गरिएको सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी श्रेष्ठले बताएका छन् ।

अन्यत्रका अभियानकर्मी सफाइ गर्न विष्णुमतीको मुहानमा पुगे पनि वडाका जनप्रतिनिधिलाई निमन्त्रणा दिँदासमेत सहभागी नभएको उनले गुनासो गरेका छन् । नगरपालिकाले घरको नक्सापास गर्दा सेफ्टी ट्याङ्क नबनाएका घरलाई पनि सम्पन्नको प्रमाणपत्र दिएको भेटिएको थियो । मुहान क्षेत्रमा पाँच घरले शौचालयको फोहर सिधै नदीमा लगी फालेको भेटिएको उनले सुनाए ।

सेफ्टी ट्याङ्क नबनाउने घरधनीलाई कारवाही शुरु गर्न अभियानकर्मीले नगरपालिकासँग माग गरेका छन् । नदीमा मानव मलमूत्रलगायत फोहर मिसाइरहने हो भने जति सफाइ गरे पनि नसकिने अभियानकर्मीको गुनासो थियो । सफाइ अभियानमा स्थानीय सरकारले ध्यान दिएका छैनन् ।

वडाध्यक्ष विजय लामाले भने चार महिनाअघि अनुगमन गरेर ३५ दिनभित्र मुहान क्षेत्रमा सिधा फोहर नदीमा नहाल्न निर्देशन दिएको बताएका छन् । पुनः अनुगमनको जिम्मेवारी त्यसै क्षेत्रबाट प्रनिनिधित्व गर्ने सदस्यलाई दिइएकाले थप बुझेर कारवाहीको प्रक्रियामा लैजाने उनको भनाइ छ ।

उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८२औँ हप्तामा शङ्खमूल पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २८ संस्थाका ५५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट आठ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिएका छन् । सफाइमा महिला तथा सामाजिक समिति सभापति निरु पाल, अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत स्थानीयवासीको सहभागिता थियो ।

रसायन तथा मेडिकल एशोसियसनको १३औँ वार्षिकोत्सवका अवसरमा पदाधिकारी एवं सदस्यको सफाइमा सहभागिता थियो । एशोसियसनले वाग्मती सफाइ महाअभियानलाई आवश्यक सामग्रीसमेत हस्तान्तरण ग¥यो । वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४३औँ हप्ताको सफाइ गोकर्णेश्वर नगरपालिका–४ स्थित माकालबारी क्षेत्रमा गरियो । नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा सफाइ भएको थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने एक मेट्रिकटन फोहर त्यहीँ गाडियो । नकुहिने दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेखा बस्नेतले जानकारी दिएका छन् ।

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो ।

रुद्रमती सफाइको २३७औँ हप्तामा रातोपुल–सेतोपुल–रातोपुल–कालोपुल क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्य शर्मिला महतो, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिएका छन् ।

वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ९२औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

यसैगरी मनोहरा सफाइको ८२औँ हप्तामा बालकुमारी पुलमुनि सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहाल, सञ्जय साई केन्द्रका पदाधिकारी एवं सदस्य लगायत १०० भन्दा बढीको उपस्थिति थियो ।

चक्रपथ सफाइको ७८औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा चोकसम्म सफाइ गरियो । ५०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताएका छन् । सफा गरेको स्थानमा फोहर फाल्न नदिन स्थानीयवासी पनि सचेत हुनुपर्नेमा अभियानकर्मीले जोड दिएका थिए । सफाइमा कलाकार रमेश दुलाल र अर्जुन घिमिरेको पनि सहभागिता थियो । सफाइपछि उनीहरुले हाँस्यव्यंग्यात्मक प्रस्तुति दिएका थिए ।

आलोकनगर सफाइको ७८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । आलोकनगर क्षेत्रमा ५५ महिलाको उपस्थितिमा जनचेतनामूलक अभियान पनि गरिएको थियो । चक्रपथ वाफल खण्ड सफाइको ६०औँ हप्तामा स्वयम्भु क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै दशैँ, तिहार, छठ पर्वका अवसरमा शुभकामना विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, कलाकार हरिवंश आचार्य, अधिकार सम्पन्न वाग्मती अध्यक्ष नरेन्द्रराज बस्नेतलगायतले चाडपर्वमा पनि सफाइलाई निरन्तरता दिइनुपर्नेमा जोड दिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिएका छन् ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्ष घोषणा गरेको छ । रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु