Breaking News

कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको काग बन्ने

आशिस तामाङ
काठमाडौँ , धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस् त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो सम्पदा निर्माण उपयोग हुनेछ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो । रमणीय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी धाममा कागको ठूलो मूर्ति स्थापना गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

“धार्मिक पर्यटनमार्फत रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न, यस क्षेत्रका कागेश्वरी, सुन्दरीमाई, शिवपुरी र मणिचुडलाई चिनाउन कागको ठूलो मूर्ति स्थापना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

यसका लागि नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्ट धातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्ट धातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।

सुन, चाँदी, तामा, पित्तल, फलाम लगायतका धातुका सामग्री कवाडीलाई नदिइ सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी–आलापोट–भद्रवास–डाँछी–मूलपानी–गोठाटारलगायत क्षेत्रमा सार्वजनिक ¥याली गर्ने तयारीसमेत भइरहेको छ ।

कागको मूर्ति बनाउन रु ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नाम कागेश्वरी धामको शिलालेखमा उल्लेख गरिनेछ । सहयोग गर्न चाहनेले लोकतान्त्रिक शहीद उद्यान गागल निर्माण उपभोक्ता समितिको नाममा रहेको कृषि विकास बैंकको खाता नं ०२१०८०११८२७३७०१७ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

हाल यहाँ २०० केजीको कागको मूर्ति स्थापना गरिएको छ । यहाँ प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएकाले असोज १ गते नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल आज कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

नगरपालिकाको वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउनुहुन्छ ।

मेलालाई व्यवस्थित बनाउन श्यामबहादुर लामाको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिका संयोजक लामाले मेला भर्न आउने भक्तजनले सहजरुपमा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाइएको बताउनुभयो । यसका लागि स्वयंसेवक, स्वास्थ्य शिविर, खानेपानी, व्यवस्थापन, सरसफाइ लगायतका उपसमिति गठन गरी सम्पूर्ण तयारी पूरा भएको उहाँले सुनाउनुभयो ।

कागेश्वरी महादेवलाई राष्ट्रियस्तरको धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने नगरप्रमुख थापाको प्रतिबद्धता छ । कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल–जोरपाटी–डाँछी–भद्रबास–आलोपोट, चाबहिल–जोरपाटी–गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल–जोरपाटी–ब्रह्मखेल–गागलफेदी हुँदै पनि पुग्न सकिने वडा अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

कागेश्वरीको महत्व

कागे अष्टमीमा यहाँ लाग्ने मेलाको धार्मिक एवं सांस्कृतिक महत्व छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो ।

कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वरी महादेवको मन्दिर मुनि र माथि समेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।

यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लाग्छ

वडा समाचारहरु

सम्बन्धित समाचारहरु