Breaking News

मन्त्रीलाई दाइजो सम्बन्धी ‘कडा’ प्रश्न सोध्ने टीभी टक शो बन्द

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सम्पत्ति विवरणसम्बन्धी विषयमा कडा प्रश्न सोधेको भन्दै १२ वर्षदेखि सञ्चालित नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गरिएको छ ।

मन्त्री बास्कोटाको निर्देशनमा सरकारी लगानी रहेको नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको पत्रकार राजु थापाको टक शो ‘सिधा प्रश्न’ प्रशारणमा रोक लगाइएको हो ।
मन्त्री बास्कोटाले टेलिभिजनका व्यवस्थापकलाई शनिबार प्रसारण हुने सो टक शो रोक्न मौखिक निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

‘‘मन्त्रीले प्रोग्राम रोक्न टीभीलाई मौखिक जानकारी दिएका रहेछन् । हिजो (मंगलबार) न्यूज च्यानलले मन्त्रीजी रिसाउनुभयो, अब यो हप्ताबाट तपाईंको कार्यक्रम नजाने भयो भनेर खबर गर्यो,’’ पत्रकार थापाले भने ।
जेठ १२ गते प्रसारण भएको लाइभ टक शोमा अन्तर्वार्ताका क्रममा मन्त्री बास्कोटाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर आफ्नो कार्यक्रम बन्द गरेको पत्रकार थापाले दाबी गरेका छन् । अन्तर्वार्ताका क्रममा पत्रकार थापासँग सञ्चारमन्त्री बास्कोटा उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा दाइजोसम्बन्धी प्रसंगमा रिसाएका थिए ।
टक शोको प्रशारण बन्द गरिएपछि पत्रकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘देशका जनताको सूचनाको संवैधानिक हक प्रत्याभूत गराउने, स्वतन्त्र प्रेसलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका सरकारका प्रवक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिविधिको विपक्षमा छ रु सत्तालाई जवाफदेही बनाउने पत्रकार र सञ्चारमाध्यम नियन्त्रण गर्न चाहन्छ रु त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ रु सत्ताको भूत र मातले गरिने यस्ता गतिविधिले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हात्तीको देखाउने दाँत मात्रै त हुँदैन रु भन्ने प्रश्न उठेको छ ।’’

पत्रकार थापाले अन्तर्वार्ताको दिनमा भित्र र बाहिरसमेत मन्त्री बास्कोटाको शैली ‘श्री ३ महाराज’ को भन्दा कम महसुस नभएको पनि बताएका छन् । ‘‘१२ वर्षको टेलिभिजन यात्रामा मैले यति धेरै दबाब झेलेको यो नै पहिलो पटक हो,’’ उनले भने ।

सञ्चारमन्त्री बास्कोटाले अन्तर्वार्ताका दिन टेलिभिजनका पत्रकार र कर्मचारीलाई हप्काएको, आफूले नमस्कार गर्दासमेत नमस्कार नफर्काएको उनले अनुभव सुनाए । ‘‘टेलिभिजन हाताभित्र पसेदेखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म अचम्मै परें,’’ थापाले भने, ‘‘अन्तर्वार्ता दिँदा र त्यस अघि–पछि पनि उनले मलाई रैतिको जस्तो व्यवहार गरे ।’’

अन्तर्वार्तापछि सञ्चारमन्त्री बास्कोटाले आफूलाई घाँटीमा ‘सुर्किनी’ लगाउने चेतावनी दिएको उनले बताए । बास्कोटाले सोही दिन नेपाल टेलिभिजनका महाप्रबन्धकलाई समेत थर्काएको पत्रकार थापाले खुलासा गरे ।

‘‘केही दिनमा तपाईंहरुको घाँटीमा सुर्किनी लगाउँछु भनेका थिए । त्यही दिन उनले जीएमलाई पनि काम ढंगले गरेनौ भने केही महिना हेर्छु, नत्र हटाईदिन्छुसम्म भनेर गएका थिए,’’ थापाले बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु