Breaking News

चीनमा आजदेखि ७ हजार स्क्रिनमा रिलिज हुँदै बाहुबली–२

काठमाडौं। निर्देशक एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘बाहुबली–२’ चीनमा आजदेखि रिलिज भएको छ । फिल्म चीनमा ७ हजारभन्दा धेरै स्क्रिनमा रिलिज हुने बताइएको छ । यसका साथै बाहुबलीले भारतीय फिल्म इतिहासका सबै रेकर्डहरु तोड्ने अनुमान गरिएको छ । 

 

अहिलेसम्म सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा पहिलो नम्बरमा अमिर खानको दंगल छ । दंगलले विश्वभरबाट २१ सय करोडको कमाइ गरेको छ । बाहुबलीले चीनमा रिलिज हुनुपूर्व १७ सय करोडको कमाइ गरेको छ । अब चीनमा रिलिज भएपछि भने बाहुबलीले दंगलको रेकर्ड तोड्दै सबैभन्दा ठूलो कमाइ गर्ने फिल्म बन्ने अनुमान गरिएको छ ।  यसअघि दंगल पनि चीनमा ७ हजार स्क्रिनमा रिलिज भएको थियो भने अमिर खानकै सिक्रेट सुपरस्टार ६ हजार स्क्रिनमा रिलिज भएको थियो । अहिले सबैभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा तेस्रो स्थानमा सिक्रेट सुपरस्टार छ र चौथो स्थानमा सलमान खानको बजरंगी भाइजान छ । रोचक त के भने यी चारवटै फिल्महरु अहिले पनि विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् र यिनीहरुको कमाइ अझै बढिरहेको छ । 

 

फिल्मको बजार विश्लेषक रमेश बालाले ट्वीट गर्दै बाहुबलीको कलेक्सन दंगलको भन्दा बढी हुने बताएका छन् । चीनमा पछिल्लो समय भारतीय फिल्महरुले निकै ठूलो कमाइ गरेका छन् । अमिर खानको दंगलले चीनमा १९५ मिलियन डलर कमाएको थियो भने सिक्रेट सुपरस्टारले ११८ मिलियन डलर कमाइ गरेको थियो । यी फिल्मको विश्वभरको कमाइ र चीनको कमाइको अनुपात हेर्दा बाहुबलीले चीनबाट दंगलले भन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ । यस्तो भएमा चीनसमेत बाहुबलीको कमाइले ३ हजार करोड नाघ्न सक्नेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु