Breaking News

दिउसो १ : १५ मा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज (आइतबार) आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले आज घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।

विश्वकप छनोटको समूह “बी” मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १ : १५ मा सुरु हुनेछ । दुई टोलीबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुनेछ । र, दुवै टोली पहिलो खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेको नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्न लागेको हो । उमेर समूहमा भने नेपालले जिम्बाबेलाई एक पटक हराईसकेको छ । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा जिम्बाबेलाई हराएको थियो  ।

टेष्ट राष्ट्र जिम्बाबेले सन् १९८३ यता लगातार विश्वकप खेल्दै आएको छ । त्यसैले एसोसियट राष्ट्र नेपाललाई बलियो प्रतिद्वन्द्वी जिम्बाबेमाथि जित निकाल्न कठिन हुने देखिन्छ । तर, नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता नेपालको लागि गार्हो भएपनि नेपालले ‘सुपर सिक्स’ मा पुग्ने लक्ष्य लिएको बताउछन् । “विश्वकपमा मात्र दुई टिम छनोट हुन्छ, हामीलाई सजिलो छैन,” जिम्बाबे जानु अघि नेपाली टोलीका कप्तान पारसले भनेका थिए, “ त्यसैले हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्समा पुग्ने हो । सुपर सिक्समा पुगेपछि हामी विश्वकप छनोटको सपना देख्छौँ ।”

पाँच राष्ट्र सम्मलित समूह बी को शिर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन्  । शिर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ  । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ । यस्तै सुपर सिक्समा पुग्ने टोलीले एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाउने छ ।

यता, जिम्बाबे पनि विश्वकप खेल्ने लक्ष्यसहित नेपालविरुद्ध खेल्ने छ । नेपालसँगको खेलअघि जिम्बाबेका प्रशिक्षक हेथ स्ट्रेकले आइसीसीसँग भने, “हामी घरेलु मैदानमा खेल्दौ छौं । घरेलु समर्थन हाम्रो लागि बिशेष हुनेछ । हामी कठिन समूहमा छौ तर हामी कुनै टोलीलाई कमजोर मान्ने छैनौं, हामीले यसअघि विश्वकप खेलिसकेका छौं । सन् २०१९ को विश्वकपमा छनोट हुन हाम्रो लागी निकै चुनौती हुनेछ । तर, हामी इंग्ल्यान्ड र वेल्सको विश्वकपमा हुने छौ ।”

समूह चरणमा नेपालले जिम्बाबेपछि स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ । नेपालले स्कटल्याण्डसँग मार्च ८ मा , अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । छनोटको समूह ए मा वेष्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहेका छन् ।

यस्तोमा नेपाललाई शिर्ष ६ भित्र अटाउन असम्भव जस्तै देखिन्छ  । तर, कप्तान पारसले नामिबियामा गरेको प्रदर्शनले आश जगाएको बताउँदै नेपाललाई लक्ष्यमा पुग्न गाह्रो नहुने बताए । “हामी यहाँ उत्साहित छौ, हामीले नामिबियामा राम्रो क्रिकेट खेल्यौँ, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं,” कप्तान पारसले आइसीसीसँग भनेका छन् , “हामीलाई भन्दा ठुलो टोलीलाई प्रेसर हुनेछ, हामीलाई पनि छ । तर, हामीलाई विश्वास छ कि अघि बढ्नको लागि हामीले सबै तरिका अपनाउने छौ ।”

 

 

 

सम्बन्धित समाचारहरु