Breaking News

राष्ट्रियताको मुद्दामा एमाले प्रतिबद्ध भएको भन्दै माओवादीका केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण पोखरेलले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेको छ ।
बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच पोखरेललाई नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टी प्रवेश गराएको छ ।

पोखरेलले लामो समय उक्त पार्टीमा रहेर काम गरेको थियो माओवादी पार्टी भित्र युवा र वौद्धिक नेताका रुपमा स्थापित पोखरेलले राष्ट्रियताको मुद्दामा एमालेले देखाएको भूमिकाबाट प्रभावित भएर आफू एमाले प्रवेश गरेको बताए । ‘मुलुक रहे मात्र हामी रहन्छौं, राष्ट्र र राष्ट्रियताका लागि एमाले बाहेक अरु पार्टीले केही गर्लान् जस्तो लागेन’–पोखरेलले भने।

नेता पोखरेलले माओवादी अझै पनि एउटा झुण्डको रुपमा मात्रै रहेको, पार्टी बनिनसकेको र त्यसलाई पार्टीका रुपमा स्थापित गर्ने कुरामा माओवादी नेताहरु उदासीन रहेकाले पनि आफूले उक्त पार्टी परित्याग गरेको बताए । माओवादी पार्टीमा देखिएको सांगठनिक अराजकताका कारण उसले आफ्नो वर्गीय पक्षधर पार्टी एमालेसँग तालमेल नगरेर कांग्रेससँग तालमेल गरेको भन्दै नेता पोखरेलले यो विषयमा माओवादीका सयौं नेताहरु असन्तुष्ट रहेको जानकारी दिए ।

पाँच नम्बर प्रदेश विभाजनका पक्षमा उभिनु पनि माओवादीको गम्भीर भूल रहेको चर्चा गर्दै नेता पोखरेलले पाँच नम्बर प्रदेश विभाजनका विरुद्ध एमालेको अभियानले आफूलाई सबैभन्दा बढी आकर्षित गरेको बताए ।

पार्टी प्रवेश गराउँदै उपमहासचिव पौडेलले राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्न नवप्रवेशी नेता पोखरेललाई आग्रह गरे।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु