अस्पतालमा भर्ना भएका बिरामीले भोट दिन नपाउने – निर्वाचन आयोग

बुधवार, २७ बैशाख 5:08 PM
local eletion, national news, latest news from gokarna news,

काठमाडौं । स्थानीय निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नबाट अस्पतालका बिरामीहरू वञ्चित हुने भएका छन् । सो दिन सवारी साधन सञ्चालन नहुने भएकाले बिरामीहरूलाई बुथमा ल्याउने र लैजान समस्या हुन्छ ।

त्यसका लागि निर्वाचन आयोग वा सरकारले कुनै व्यवस्था गरेको छैन । यस्तो परिस्थितिका कारण देशभित्रै रहेर पनि अस्पतालमा भर्ना भएका बिरामीहरूले भोट हाल्न नपाउने भएका हुन् ।

मतदान गर्न पाउनु प्रजातान्त्रिक राष्ट्रका नागरिकको नैसर्गिक अधिकारसँग जोडिएको विषय हो । यस्तो विषयमा सरकार र निर्वाचन आयोगजस्ता सरोकारवाला निकायहरू संवेदनशील हुनुपर्ने नागरिक अधिकारकर्मीहरू बताउँछन् । कुनै व्यक्ति आफ्नो शारीरिक असमर्थताका कारण मतदान गर्ने अधिकारबाट वञ्चित हुनु प्रजातान्त्रिक मान्यताका दृष्टिले राम्रो कुरा होइन ।

तर २०५४ सालमा भएको स्थानीय निर्वाचनयता झन्डै २० वर्षपछि हुन लागेको र देश संघीयतामा गइसकेपछि पहिलो पटक हुन लागेको यति महत्त्वपूर्ण निर्वाचनमा देशका केही व्यक्तिहरू इच्छुक रहँदा रहँदै पनि मताधिकारबाट वञ्चित भएका छन् । यो निर्वाचनमा बिरामीहरूका लागि कुनै विशेष व्यवस्था नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

पेसासँग सम्बद्ध डाक्टर, नर्स, चिकित्सक, सुरक्षा निकायका सुरक्षाकर्मी र पत्रकारहरू आदिले पेसागत बाध्यताका कारण निर्वाचनमा मतदान गर्न नपाउनुलाई स्वाभाविकै ठानिए पनि अस्पतालमा रहेका भोट हाल्न इच्छुक बिरामीहरू यो अवसरबाट वञ्चित हुनुलाई त्यति स्वाभाविक मान्न सकिँदैन ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद शर्मा बिरामी परेका व्यक्तिहरूलाई सकेसम्म र मिलेसम्म आफ्नै घरपरिवारका सदस्यले मतदान स्थलसम्म लैजानसक्ने बताउँछन् । उनले भने, ‘‘हामीले त्यसका लागि विशेष व्यवस्था गर्न सकेका छैनौं । तर बिरामीका आफन्तहरूलाई यस्तो व्यवस्था मिलाउन आग्रह गर्छौं ।’’

उनले भने, “बिरामीहरू बुथमा गए पहिलो प्राथमिकताका साथ लाइनमा नबसी भोट हालेर फर्किन पाउनुहुन्छ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेती सद्दे वा बिरामी जोसुकै होस्, बुथमा नगए भोट हाल्न नपाउने बताउँछन् । “बिरामी होस् या सद्दे बुथमा नगए भोट हाल्न पाउँदैनन् । भोट हाल्नका लागि बुथमा जानै पर्छ, किनभने हाम्रो देशको निर्वाचनसम्बन्धी व्यवस्था यस्तै छ ।’’

उनले भने, “अरू विकसित देशमा घरबाटै भोट हाल्न पाउने व्यवस्था हुन्छ तर हाम्रो देशमा त्यस्तो व्यवस्था छैन ।’’ त्यसो त बिरामी मात्र होइन, रोजगारी र अन्य कामका लागि विश्वका विभिन्न देशमा बसेका र नेपालको निर्वाचनप्रति चासो राखिरहेका ४०÷५० लाख आप्रवासी नेपालीहरूसमेत यो निर्वाचनमा मताधिकारबाट वञ्चित हुँदैछन् ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us